डिजेल र मट्टितेलमा मूल्यबृद्धि
MNN REPORTER Report | 17 Nov 2009 | Views: 501
काठमाडौं, २ मंसिर । पेट्रोलियम पदार्थको हाहाकार भाईरहेको बेला नेपाल आयल निगमले आजैदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा मूल्य बृद्धि गरेको छ । निगमले डिजेल र मट्टितेलमा ३/३ रुपैयाँको दरले मूल्यबृद्धि गरेको हो ।
मूल्यबृद्धि पछि डिजेल र मट्टितेलको बजार मूल्य ५८ रुपैयाँ पुगेको छ । यसअघि ५५ रुपैयाँ थियो । अन्तराष्ट्रिय बजारमा मूल्य समायोजन गर्ने नाममा निगमले मूल्य बढाएपछि केही दिनयता अभाब झेलेका उपभोक्ताले मूल्य बृद्धिको बोझ समेत उठाउनु परेको छ ।
खाना पकाउने ग्याँस, पेट्रोल र हवाई इन्धनमा भने मूल्य बृद्धि नभएको निमगले जनाएको छ । मूल्यबृद्धि हुने आशंकाले यसअघि नै पेट्रोलीयम पदार्थ बिक्रेताले कृत्रिम अभाब सृजना गरिसकेका थिए । यसैबीच आठ दिनदेखि इन्धन डिपो बन्द गरी मजदुरहरु आन्दोलनमा उत्रिएपछि पूर्वी नेपालका तीन जिल्लामा ७५ प्रतिशत सार्बजनिक र निजीसाधन थन्किएका छन् । सन्चालनमा रहेका सवारी साधनका धनीले भारतबाट र कालोबजारी मूल्यमा इन्धन खरिद गर्ने गरेका छन् ।
२ सय ४० दिन काम गरेका मजदुरलाई स्थायी गर्नुपर्ने, आठ घण्टा बढि काम गरेबाफत अतिरिक्त तलब भत्ता, मौजुदा तलब सुबिधामा ४० प्रतिशत बृद्धि लगायत विभिन्न १७ सुत्रिय माग राखि एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल पेट्रोलियम मजदुर संघको अगुवाईमा मजदुरहरु कात्तिक २४ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने संघका अध्यक्ष गोबिन्द पराजुलीले बताउनुभयो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)