अवैध भीओआइपी मार्फत् दैनिक लाखौँ घाटा
MNN REPORTER Report | 27 Dec 2009 | Views: 432
प्रल्हाद गिरी - काठमाडौं पौष १३ । विदेशबाट आएको कललाई स्थानीय लोकल नम्बर प्रयोग गरी सरकारलाई घाटा गराइदिने गिरोहमध्येका एक भारतीय नागरिकलाई प्रहरीले गत शनिवार समातेको भएपनि अवैध रुपमा विदेश फोन गराउने भ्वाइस ओभर इन्टरनेट प्रोटोकोल (भीओआइपी)को अवैध रुपबाट दैनिक लाखौं रुपैयाँको विदेशी मुद्राको अपचलन भइरहेकोमा भने सरकार निरीह बनेको छ ।

पछिल्लो समयमा विदेशमा गरिने फोनको उपयोग इन्टरनेटमार्फत बढेपछि निजी रुपमा च्याऊजस्तै खुलेका साइबर क्याफेहरूले स्थानीय रुपमा नियुक्त भएका दलालहरूमार्फत् इन्टरनेट कलको भौचर खरीद गर्ने गरेका छन् । दलालहरूले बेच्ने रिचार्ज भौचरको रकम युएस डलर, युरो आदिमा हुने गरेको तर उनीहरूले सो रकम बैंकिंग च्यानलमार्फत् नभई निजी रुपमा हुन्डी आदिको प्रयोगबाट पठाउने गरेको तथ्य पनि खुलासा भएको छ । बैंकहरूमार्फत् भुक्तानी नभई सोझै व्यक्तिगत रुपमा हुन्डीबाट पठाउँदा सरकारलाई प्राप्त हुने राजस्व तथा बैंक कमिशन पनि नपाइने भएकोले लाखौंको दैनिक रुपमा घाटा भइरहेको छ ।
'हामीले दैनिक रुपमा ग्राहकको सस्तो नेटकलको माग धान्नुपर्छ, आधिकारिक रुपमा कहाँ पाइन्छ त्यो थाहा छैन । उहाँहरूसंगै लिने हो ।' बानेश्वरका साइबर क्याफे सञ्चालक दीपक अधिकारीले भने । उनका अनुसार विदेशमा कल रेट महँगो हुँदासम्म एक दुई मिनेटमा नै कुरा गरेर टुंग्याउने ग्राहकले अहिले न्यूनतम दश मिनेट कुरा गर्छन् । बजारमा छ्याप्छ्याप्ती साइबरमार्फत् इन्टरनेट कल गर्ने ग्राहकको संख्या बढेपछि नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमार्फ्त् आउने २५ प्रतिशत आम्दानी ५ प्रतिशतमा झरेको छ । 'हामीकहाँ भोओआइपीको नीति नै छैन, न दूरसञ्चार प्राधिकरणको कुनै निर्देशिका तयार भएको छ ।' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिके भन्छन् । तर केही महिना अगाडि युरोप र अमेरिकामा हुने सस्तो कलका लागि टेलिकमले बजेट कलबाट ग्राहक आकषिर्त गर्न नखोजेको भने होइन । प्रवक्ता थिके भन्छन्, 'हामीले अन्तर्राष्ट्रिय कलको आम्दानी घटेपछि बजेट कलको स्कीम ल्याएका थिर्यौं ।' तर अन्तर्राष्ट्रिय बजारमा भीओआइपी झनै सस्तो भएपछि टेलिकमको यो प्रयास पनि निर्रथक साबित भएको छ ।
बेरोकटोक धन्दा
स्रोतका अनुसार अहिले राजधानीका बौद्ध, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, जावलाखेल, नयाँ बानेश्वर आदि ठाउँमा लोकल एजेन्टका रुपमा नियुक्त व्यक्तिहरूले भीओआइपीको अवैध धन्दा गरिरहेका छन् । बेरोकटोक रुपमा सञ्चालित यो कारोवारमा न कुनै प्रशासनको अनुगमन छ न त कुनै कानून नै । 'कसले के गर्ने, ग्राहकलाई सस्तो चाहियो । के सरकारको टेलिकमले यति सस्तोमा फोन गर्न दिन्छ त-' नेट फोनका अर्का सञ्चालक पवन भुजेलको भनाई छ । ग्राहकहरूको आवाज पनि दलाल र अवैध धन्दा गर्नेहरूकै लोलीमा बोली चल्छ । 'हेर्नुस हामीलाई त जसरी भएपनि थोरै पैसामा धेरै फोन गर्न परेको छ । अब कसले के गर्छ । सरकारलाई राजस्व जान्छ कि जाँदैन हामीलाई थाहा पनि छैन र मतलब पनि छैन ।' नेट फोनकी नियमित ग्राहक सीता खनाल भन्छिन् ।
कल कसरी हुन्छ ?
गुगलको र्सच इन्जिनबाट फ्रीकल भीओआइपी भनेर टाइप गर्ने हो भने सर्यौंका संख्यामा भीओआइपी सेवा प्रदायकहरू सेवा दिन तम्तयार हुन्छन् । जुम्बलो, एसएमसडिस्काउन्ट, रिंगा, चीपभीओआइपी, फ्रीकल नामका थुप्रै कम्पनीहरु चौबिसै घन्टा इन्टरनेट मार्फत कल गराउन तम्तयार देखिन्छन् । स्रोतका अनुसार नेपालमा नियुक्त एजेन्टहरु नब्बेदेखि पन्चानब्बे भीओआइपी कम्पनीका लागि कारोवार गर्छन् । नेट फोनको व्यवसाय गर्नेहरूले फोनमा प्रत्यक्ष जोडिने एउटा सिप डिभाइस किन्नु पर्छ । यो डिभाइस तीन हजार देखि पाँच हजार रुपियाँमा बजारमा पाइने गरेको छ । सिप डिभाइसमा एउटै इन्टरनेट प्वाइन्टबाट धेरै फोन सञ्चालन गर्न राउटरको प्रयोग गरिन्छ । उक्त राउटर हेरी हेरी दुई प्वाइन्टदेखि दश प्वाइन्टसम्म हुने गरेको छ । उक्त डिभाइसमार्फत इन्टरनेट जोडेपछि फोनमा सम्बन्धित कम्पनीको युजरनेम र पार्सवर्ड हालेर सेभ गरेपछि प्रत्यक्ष नेट फोन गर्न सकिन्छ । घरैमा इन्टरनेट हुनेले फोन गर्न चाहेमा आफूले रोजेको वेबसाइटमा गएर रजिस्टर गर्नुपर्छ । युजर आइडी र पार्सवर्ड बनाएपछि प्रायः जसो कम्पनीले क्रेडिट थप्न भनेर पैसा रिचार्ज गर्न आग्रह गर्दछन् । क्रेडिट कार्ड हुनेले सोझै क्रेडिट कार्ड मार्फत् आपनो एकाउन्ट रिचार्ज गर्न सक्छन् । क्रेडिट कार्ड नहुनेलाई कम्पनीहरूले पे पाल, वेस्टर्न युनियन मनी ट्रान्सफर, युक्याश आदि मार्फत पनि भुक्तानी गर्न सकिने जुक्ति दिएका छन् । यदि यी माध्यमबाट पनि नहुने भएमा लोकल एजेन्ट मार्फत भुक्तानी गर्नु पर्ने सेवा प्रदायकहरूको वेबसाइटमा स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ । नेपालमा अझै पनि क्रेडिट कार्ड उच्च वर्गमा पनि केही व्यक्तिको पहुँचमा मात्र हुने गरेकोले क्रेडिट कार्ड लोकप्रिय छैन । यस अवस्थामा ग्राहकलाई सेवा लिन एजेन्टहरुकै सहारा लिनुपरेको स्रोतले बताएको छ । लोकल एजेन्ट मार्फत एकाउन्ट रिचार्ज गर्दा राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दरभन्दा बढी मूल्यमा भुक्तानी गर्न गा्रहकलाई बाध्य पारिन्छ । रिचार्जका लागि तिरिनै पैसा विदेशी मुद्रामा मात्रै हुनेभएकोले पनि करोडौंको विदेशी मुद्रा अपचलन भएको स्रोतको दाबी छ ।
कारोवारको नियमित श्रृंखला
सामाखुशीका एक साइबर सञ्चालकका अनुसार कम्तीमा पनि १० युरो बराबरको एकाउन्टमा पैसा हाल्नुपर्छ जसअनुसार अहिले युरोको विनिमय दर १०७ रुपैयाँ भएपनि दलालहरूले १३० का दरले पैसा लिने गरेका छन् । उनीहरूले यस कारोवारका लागि आफ्नो नाम पनि गोप्य राख्न चाहेको स्रोतले बतायो । नाम र ठेगाना गोप्य राख्नाले यस कारोवारमा दलालहरुको नियत आफैं स्पष्ट भएको भएपनि प्रशासन मौन रहेको छ । 'कतिपय एजेन्टले त मुखै देखाउँदैनन्, उनीहरुको बैंकखातामा पैसा हालिदिनुपर्छ अनि हाम्रो एकाउन्ट रिचार्ज हुन्छ ।' जावलाखेलका नेट फोन पसले विजय विष्ट भन्छन् । कल रेट वेबसाइटमा लेखिएको रेटभन्दा फरक हुने साइबर सञ्चालकहरुको भनाई छ । अमेरिका, क्यानाडामा प्रतिमिनेट १ रुपैयाँ ग्राहकले तिरेपनि नेट फोनधनीलाई पचास पैसा बराबरमा आउने गरेको थाहा भएको छ । फोन रेट पनि नेट फोन पसल हेरी हेरी फरक भएको एक नियमित ग्राहकले कुराकानीका क्रममा बताएका छन् । उनका अनुसार भारतका लागि प्रतिमिनेट दुई रुपियाँ लिइने कलमा पसलधनीहरुलाई एक रुपैयाँ पर्ने गर्दछ । नेट फोनको व्यापार गर्नेहरुलाई अहिले यो मात्रै व्यवसायले मनग्गे आर्थिक फाइदा पुगेको छ । 'तीसवटा जति विकसित मुलुकमा त फ्रीकल छ, पैसा नै तिर्नुपर्दैन ।' लाजिम्पाटका नेट फोन व्यवसायी सीताराम कोइरालाले भने । 'तर ग्राहकलाई यो बारेमा हामी कसैले बताउने गरेका छैनौं ।' उनले तीस देशमा फ्रीकल भएपनि चालिसभन्दा बढी देशमा फ्रीकल कल भएको र फ्रीकल भएको देशमा फोन गराएर नेटकल व्यवसायीहरुले पैसा निर्धक्क कमाइरहेको स्रोतको दावी छ ।
कल बाइपास गरी सरकारलाई करोडौं रुपैयाँको चूना लगाएकोले हिजो मात्र एक भारतीय नागरिकलाई एक सय पाँच थान एनटीसीको सिमकार्ड र दुई सय थान मेरो मोबाइलको सिम कार्ड सहित प्रहरीले पक्राउ गरेको कुरा र्सार्वजनिक भएपछि भीओआइपीका लोकल एजेन्टहरु पनि हताश देखिएका
छन् । उनीहरुमा आफूहरु पनि पक्राउ पर्ने हो कि भनेर आफ्नो नाम, ठेगाना, बैंक खाता लगायत वेबसाइटहरुमा दिने मोबाइल नम्बरहरु पनि परिवर्तन गरेको स्रोत बताउँछ । आधिकारिक रुपमा सरकारलाई कर र भ्याट बुझाएर भीओआइपीको क्षेत्रमा अहिले दुई/तीन कम्पनीले मात्र पाइलो हालेका छन् । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन, ब्रोडलिङ्क कम्युनिकेशन र भायानेटमार्फत हुने नेटकलमा मात्र सरकारलाई आम्दानी हुने गरेको छ । यी कम्पनीहरुले भीओआइपी मार्फत् हुने नेटकलको कल कार्ड बनाएर कानूनी रुपमा नै बेच्ने गरेका छन् । उनीहरुको कलिंग कार्डमा दश प्रतिशत दूरसञ्चार शुल्क र तेह्र प्रतिशत भ्याट पनि समावेश हुने गरेको स्रोतले बतायो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)