सुन आयात प्राय ठप्प
MNN Reporter Report | 26 Jan 2010 | Views: 175
काठमाडौं, माघ १२ ( रासस) । नेपाल राष्ट्र बैङ्कले सुन आयातमा गरेको कडाइले नेपाली बजारमा सुनको कारोबारमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बढ्दो सुन आयातले व्यापार घाटा बढाएको र यसमा हुनेगरेको लगानीसमेत जोखिममा रहेको भन्दै आयातमा कडाइ गरेको थियो ।
नेपालमा आयातित सुन छिमेकी भारतीय बजारमा गैरकानुनी रूपबाट निकासी भएको राष्ट्र बैङ्क स्रोतको दाबी छ ।
सुन आयातमा भएको कडाइले विगत दस दिनमा सुन आयात घटेको राष्ट्र बैङ्कका कामु गभर्नर कृष्णबहादुर मानन्धरले सोमबार एक कार्यक्रममा बताउनुभएको थियो ।
माघ १ गते २५० केजी, २ गते ५० केजी, ३ गते १५ केजी, ४ गते ५० केजी ५ गते ५० केजी, ६ गते एक ९५० केजी, ७ गते २५ केजी, ८ गते ७५ केजी र ९ गते ५१८ ग्राम सुन नेपाल आयात भएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।
सुन आयातमा भएको कडाइले विवाहको लगनको बेलामा समेत गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो ।
अहिले सरदर दैनिक १० देखि १२ केजीसम्म सुनको बिक्री भएको शाक्यले जानकारी दिनुभयो ।
सुनको आयात रोकिँदा उपभोक्ताहरू बढी मूल्य तिर्न बाध्य भएको शाक्यले जानकारी दिनुभयो । राष्ट्र बैङ्कले नेपालमा आयातित सुन भारतमा गैरकानुनी रूपबाट निकासी भयो भन्नु गलत रहेको अध्यक्ष शाक्यको भनाइ छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)