भ्रष्टाचारको अभियोगमा सचिवलाई एक वर्ष कैद
MNN REPORTER Report | 9 Feb 2010 | Views: 133
काठमाडौं, माघ २६ । विशेष अदालतले अर्थमन्त्रालयका सहसचिव नरेन्द्रमान श्रेष्ठलले त्रिभुवन विमानस्थल र वीरगञ्ज भन्सारमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर गरी एक वर्ष कैद र बिगोबमोजिम जरिवाना गरेको छ ।
अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य ओमप्रकाश मिश्रको संयुक्त इजलासले मंगलबार त्रिभुवन विमानस्थल र वीरगन्ज भन्सारमा प्रमुखलगायतका पदमा हुँदा श्रेष्ठले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर गरेको हो ।
अदालतले श्रेष्ठको स्रोत नखुलेको सम्पत्ति ४६ लाख ४ हजार रुपैयाँ रहेको ठहर गरी बिगोबमोजिम जरिवाना र सो बराबरको थप सम्पत्ति जफत गर्न सरकारलाई आदेश दिएको छ ।
साथै अदालतले श्रेष्ठबाट अकुत सम्पत्तिको बिगोबराबरको क्षतिपूर्ति असुल गर्न उनकी पत्नी रीताको नाममा राजधानीको पुतलीसडकमा रहेको पाँचतले घर जफत गर्न आदेश दिएको छ ।
विशेष अदालतले २०६२ सालमा श्रेष्ठमाथि भ्रष्टाचार गरी १ करोड ४१ रुपैयाँ आर्जन गरेको दाबी गर्दै उनीविरुद्ध अकुत सम्पत्तिको मुद्दा दायर गरेको थियो। अदालतले उनको सम्पत्ति छानबिन गर्दा १ करोड ३९ लाख रुपैयाँ रहेको यकिन गरी सोमध्ये स्रोत नखुलेको ४६ लाख ४ हजार रुपैयाँलाई भ्रष्टाचारबाट आर्जित कमाइ ठहर गरेको हो ।
श्रोत: नागरिक समाचार
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)