प्रहरी जमिमको हत्याराको नजिक, चार प्रहरी निलम्बित

MNN REPORTER Report | 9 Feb 2010 | Views: 166

काठमाडौ प्रहरीको पत्रकार सम्मेलन

काठमाडौ, माघ २६ । स्पेशटाइम नेटवर्क तथा च्यानल नेपालका अध्यक्ष जमिम शाहको हत्या भएकाबेला सुरक्षामा लापरवाही गरेको भन्दै चार प्रहरीलाई निलम्बन गरिएको छ ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी महानगरीय प्रहरी प्रमुख एसपी गणेश केसीले दिएको जानकारी अनुसार असई लोकेन्द्र पण्डित, हवल्दार तुलबहादुर अधिकारीसहित प्रहरी जवान दुर्योधन यादव र अनिल राईलाई निलम्बन गरिएको छ । केसीले निलम्बितहरुले आफ्नो जिम्मेवारी पूरा गर्न चुकेकाले निलम्बित गरिएको जानकारी दिए ।

यसैबीच अपराधीहरुले शाहको हत्यामा प्रयोग गरेको बा १७ प ८७३३ नम्वरको मोटरसाइकल ललितपुर महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड को-अपरेटिभ लिमिटेडको भएको एसपी केसीले जानकारी दिए । सो मोटरसाइकल काठमाडौंको फुटुङमा बेवारिसे अवस्थामा मंगलबार नै प्रहरीले बरामद गरेको छ ।

संचारकर्मीहरुद्वारा विरोध
स्पेसटाइम नेटवर्क प्रालिका अध्यक्ष जमिम शाहको हत्याको विरोधमा मंगलबार राजधानीमा विरोध जुलुस आयोजना गरियो । नेपाल पत्रकार महासंघको अगुवाईमा भृकुटीमण्डपबाट सुरु भएको विरोध जुलुस सुन्धारा पुगेर कोणसभामा परिणत भएको थियो ।

जुलुसमा नागरिकसमाज, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो । जुलुसमा सहभागीहरुले जमिमका हत्यारालाई पक्राउगरी कारवाही गर्न सरकारसँग माग गरेका थिए ।


छोटा राजन समूहकै संलग्नता
प्रहरीले स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्यामा कुख्यात अन्डरवल्र्ड डन छोटा राजन समूहको संलग्नता रहेको र हत्यामा प्रत्यक्ष संलग्न आक्रमणकारी तथा योजनाकार नजिक पुगेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख गणेश केसीले हत्यामा अन्तर्राष्ट्रिय संलग्नताको आशंका पुष्टि हुँदै गएको र हत्याराहरू छिट्टै पक्राउ पर्ने बताए । लाजिम्पाटको मुख्य सडकमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले आइतबार अपराह्न २:२० बजे ४७ वर्षीय शाहको गोली हानी हत्या गरेका थिए ।

'अनुसन्धानबाट छोटा राजन समूहले नै हत्या गराएको बुझिन आएको छ । हत्यारा र योजनाकारको निकै नजिक पुगेका छौं,' सोमबार साँझ कान्तिपुरसित उनले भने । केबुल टेलिभिजन एसोसिएसन र एभिन्युज टेलिभिजनमा राजन समूहका भरत नेपालीको नामबाट आएको टेलिफोन तथा दर्जनौं व्यक्तिसँगको सोधपुछमा 'मिसन' बोकेर आएको समूहले हत्या गरेको उनले जानकारी दिए ।

केसीका अनुसार भरतले सोमबार दिउँसो फोन गरी 'भारतविरुद्ध लाग्नेको हालत यस्तै हुन्छ' भन्दै हत्याको जिम्मेवारी लिएका थिए । लगत्तै टेलिकमबाट लिएको कल विवरण, जमिमनिकट व्यक्ति र केहीअघि भारतीय जाली नोट कारोबारमा संलग्न नेसनल टेलिभिजनका सञ्चालक युनुस अन्सारीसँगको कुराकानीबाट हत्यामा राजन समूहको हात रहेको बुझिएको एसपी केसीले बताए ।

पहिले एसोसिएसनको नम्बरमा ११:४४ बजे आएको फोन त्यहाँ कार्यरत एक कर्मचारीले उठाउनासाथ भरतले हत्याको जिम्मेवारी लिँदै धम्क्याएका थिए । ४६ सेकेन्डमै फोन काटिएपछि उनले पटकपटक फोन गरेका थिए । एसोसिएसनमा तीनवटा 'मिस कल' देखिए पनि टेलिफोन नम्बर टेलिकमबाट पत्ता नलागेको प्रहरीको भनाइ छ । त्यसपछि भरतले १२:१५ टेलिभिजन कार्यालयमा फोन गरी उही कुरा दोहोर्‍याएका थिए ।

टेलिभिजन कार्यालयमा भरतले १८७७४२७३३६८ नम्बरबाट करिब ६० सेकेन्ड कुरा गरेको प्रहरीले जनायो । टेलिकम स्रोतका अनुसार विश्वका धेरै मुलुकमा बसेर फोन गर्न सकिने यो नम्बर क्यानाडाको कलिङ कार्डको हो । भरतले १२:३५ मा पनि नम्बर नदेखिने टेलिफोनबाट एसोसिएसनमा फोनगरी ५४ सेकेन्ड कुरा गरेको टेलिकमको हवाला दिँदै प्रहरीले जनाएको छ ।

एसपी केसीका अनुसार नेपालकै अछाम र पाल्पा घर भएको चर्चा हुने भरत महाकालीपारी पिथौरागढतिरका सैनिक पृष्ठभूमिका व्यक्ति हुन् । सन् १९९७ मा सैनिक सेवा त्यागी राजन समूहमा संलग्न उनको अनुहार नेपालीजस्तै भएकाले नेपाली बताउने गरेको प्रहरीले बतायो । हत्या योजना भने भारत सीमावर्ती क्षेत्रमा क्रियाशील बब्लु नामका व्यक्तिले बनाएको स्रोतले बतायो । करिब दुई महिनाअघि डिल्लीबजार कारागार समेत पुगी थुनामा रहेका विभिन्न अपराधीसँग शाह र अन्सारीबारे बुझेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 'पहिलो निशानामा अन्सारी रहेको बुझिएको छ, उनी जेल गएपछि जमिमलाई टार्जेट बनाएको हुनसक्छ,' स्रोतले भन्यो, 'हत्यामा संलग्न दुई जनालाई बब्लुले हायर गरेको बुझिन्छ ।'

बब्लुले बोक्ने मोबाइल ट्रेस गर्दा लाजिम्पाट क्षेत्रमै रहेको र दुई आक्रमणकारीसमेत सँगै रहेको अनुमान छ । योजनाकारको विवरण सोमबार अबेर खुलेको र लोडसेडिङले गर्दा राति राम्ररी मोबाइल ट्रेस गर्न समस्या परेकाले अपराधीसम्म पुग्न नसकिएको प्रहरीले जनाएको छ । 'भीआईपी निवास क्षेत्र भएकाले पनि खोजतलास गर्न अप्ठेरो छ,' एक प्रहरी अधिकृतले भने । यसबीच सुरक्षामा लापरबाही गरेको भन्दै लाजिम्पाट प्रहरी वृत्तका हवल्दारसहित ४लाई निलम्बन र एक असईलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।

छानबिन समिति
हत्याबारे छानबिन गर्न छुट्टाछुट्टै तीन समिति गठन भएका छन् । मन्त्रिपरिषदले पुनरावेदन अदालतका पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा ५ सदस्यीय समिति, प्रहरी प्रधान कार्यालयले राजेन्द्रमान सिंह भण्डारी संयोजकत्वमा ४ सदस्यीय र महानगर आयुक्तको कार्यालयले एसएसपी माधव जोशीको संयोजकत्वमा समिति गठन गरेको हो ।

श्रोत: कान्तिपुर, संवाददाता: सरोजराज अधिकारी

1. | 20 Jul 2010 - 10:32

This crime should be completely eradicated from the root.Time has come to comeover these crimes.Wake up Nepal and Nepali.

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal